बुटवल, वैशाख २५ :

रुपन्देहीको शुद्धोधन गाउँपालिका ४, फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासि आगलागी भएको छ । ४० विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको बसमा अचानक आगलागी भए पनि सबै विद्यार्थी सुरक्षित छन् ।

प्रहरीका अनुसार घर-घरबाट विद्यार्थी चढाएर विद्यालयनजिक पुगेका बेला बसको इन्जिनबाट एक्कासि धुवाँसहित आगो लागेको हो । आगलागी भएको देखेपछि बस चालक, सहचालक र स्थानीयको सक्रियतामा सबै विद्यार्थीलाई सुरक्षित रूपमा बसबाट बाहिर निकालिएको थियो ।

‘आगो लागेपछि तुरुन्तै सबै विद्यार्थीलाई उद्धार गरियो,’ रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भने , ‘कुनै मानवीय क्षति हुन पाएन ।’ विद्यालयको लु.१क १३२६ नम्बरको बस भने पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानअनुसार बसमा यान्त्रिक खराबीका कारण आगलागी भएको आशंका गरिएको छ । यद्यपि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।