काठमाडौं, वैशाख २५ :

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुलुकमा केही भएन भनेर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई खण्डन गर्न सकेको बताए ।

नीति तथा कार्यक्रम जनता केन्द्रित रहेको भन्दै उनले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्ने उल्लेख गरे । उनले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए।

आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा रहेको पर्यटन क्षेत्रको थप विकासका लागि सहज हवाई यातायातको प्रबन्ध गर्नुपर्नेमा सांसद कार्कीले जोड दिए । ठुलाठुला भवन बनाएर मात्रै शैक्षिक क्षेत्रको विकास हुन नसक्ने धारणा राख्दै उनले शिक्षा र स्वास्थ्यका लागि ठोस पहलकदमी लिन ढिलाइ गर्न नहुने बताए । नाराले नभई सकारात्मक र सार्थक नीति लिएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।