
पाकिस्तानतर्फबाट भएको अन्धाधुन्ध गोलीबारीमा जम्मु-कश्मीरका एक वरिष्ठ सरकारी अधिकारीको मृत्यु भएको छ।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानतर्फबाट भएको गोलीबारीमा एक वरिष्ठ सरकारी अधिकारीको मृत्यु भएको पुष्टि गरेका छन्।
मुख्यमन्त्री अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत लेखेका छन्, ‘राजौरीबाट दुःखद खबर आएको छ। हामीले जम्मु–कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा सहभागी भएका थिए।’
उनका अनुसार पाकिस्तानले शनिबार राजौरी सहरलाई लक्षित गर्दै गरेको गोलीबारीका क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घरमा आक्रमण भएको थियो। सो हमलामा थापाको मृत्यु भएको जनाइएको छ।
मुख्यमन्त्री अब्दुल्लाहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलीअर्पण गरेका छन्।यसबीच पाकिस्तानले पनि भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताइसकेको छ। पछिल्लो केही दिनदेखि भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा तनाव चुलिँदै गएको छ।
यसैबीच, भारत-पाकबीच चौथो दिन पनि ड्रोन हमला जारी रहेको छ ।भारतको जवाफी कारबाहीमा पाकिस्तानी पोस्ट र आतङ्ककारी लञ्चप्याड ध्वस्त, पाकिस्तानबाट ड्रोन हमला चौथो दिन भारतीय सेनाले शुक्रबार राति जम्मु नजिकै पाकिस्तानका सैन्य पोस्टहरू र आतङ्ककारी लञ्चप्याडहरूमा कारबाही गर्दै तीव्र हमला गरेको छ। भारतीय रक्षा स्रोतहरूका अनुसार ती लञ्चप्याडहरूबाटै भारततर्फ लगातार ड्रोन आक्रमण गरेको थियो।
भारतीय कारबाहीमा पाकिस्तानका कम्तीमा चारवटा एयरबेसमा आक्रमण गरिएको र लक्षित स्थानहरूमा ठूला क्षति पुगेको बताइएको छ।
यस्तै, पाकिस्तानले पनि जवाफी हमला गर्दै लगातार चौथो दिन शनिबार बिहान भारतका विभिन्न स्थानहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। श्रीनगर र पंजाबको पठानकोट एयरबेस नजिकै तीव्र विस्फोटको आवाज सुनिएको छ भने अमृतसरमा समेत आक्रमण भएको पुष्टि भएको छ।
शुक्रबार राति ८:३० बजेपछि पाकिस्तानले राजस्थान, गुजरात, पंजाब र जम्मु–कश्मीर राज्यका २६ वटा सहरहरूमा ड्रोन हमला गरेको भारतीय अधिकारीहरूले जनाएका छन्।
यसैबीच अमेरिका समेत तनावपूर्ण स्थितिप्रति चिन्तित देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको चुलिंदो तनाव चाँडै शान्तिपूर्ण तरिकाले समाधान होस् भन्ने आशा व्यक्त गरेका छन्। उनले दुवै देशलाई संयमता अपनाउन अपिल गरेका छन्। बीबीसी हिन्दी