
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले निर्वाचन सम्पन्न भएको नौ दिनपछि २२ सदस्यीय नयाँ मन्त्रिमण्डल घोषणा गरेका छन्, जसमा ११ जना महिला मन्त्री नियुक्त भएका छन्। सत्तारूढ लेबर पार्टीले बहुमत प्राप्त गर्दै अल्बानिजी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।
नयाँ मन्त्रिमण्डलमा पेनी वङ्ग परराष्ट्रमन्त्रीको जिम्मेवारीमा यथावत् रहेकी छन् भने जिम चाल्मर ट्रेजररका रूपमा फर्किएका छन्। रिचार्ड मार्ल्स उपप्रधान तथा रक्षामन्त्री र टोनी बर्क अध्यागमनमन्त्री बनेका छन्।
महिला मन्त्रीहरूमा क्याटी ग्यालेगर, क्याथरिन किङ, अमान्डा रिसवर्थ, मिचेल रोल्यान्ड, तान्या प्लिर्वेस्क, जुली कोलिन्स, क्लेयर ओ निल, मेडेलिन किङ, मार्लार्दिरी म्याकर्थी, एनिका वेल्स र एनी एली रहेका छन्।
लेबरले ९३ सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ भने लिबरल कोअलिसनले ४१ सिटमा सीमित भएको छ। निर्वाचनताका लेबरले आवास, कर, स्वास्थ्य, अध्यागमनजस्ता विषयलाई प्राथमिकता दिएको थियो।
सरकारले पहिलो घर किन चाहनेका लागि १ लाख नयाँ घर निर्माण, डिपोजिट ५ प्रतिशत मात्र तोक्ने, भिसा आवेदन शुल्क २ हजार डलर पुर्याउने, घरबाट काम गर्ने कर्मचारीलाई १ हजार डलर कर छुट दिने, र २ प्रतिशत आम्दानी कर घटाउने योजना ल्याएको छ।
स्वास्थ्य क्षेत्रमा ८.५ अर्ब डलर खर्च गरिनेछ भने शिक्षामा विद्यार्थीको कर्जा २० प्रतिशत मिनाहा र २०२७ सम्म १ लाख विद्यार्थीलाई नि:शुल्क प्राविधिक शिक्षा दिने योजना सार्वजनिक गरिएको छ। अध्यागमन नीतिमा पनि कडाइ हुने संकेत देखिएको छ।
अस्ट्रेलियाको नयाँ मन्त्रिमण्डल समावेशी तथा सुधारमुखी भन्दै राजनीतिक विश्लेषकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।