
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरे । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।
प्रधानमन्त्री ओलीले ‘सिनेपा’नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए ।
ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए । उनले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो ।
‘त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधैं सकारात्मक र सहयोगी छौँ ।’
बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सो अवसरमा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । उनले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको स्पष्ट पारे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए ।