काठमाडौं, वैशाख ३१ :

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको अनुपस्थितिप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नियमापत्ति जनाएको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को नियमावली २०७९ को दफा ६ (५) अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीको उपस्थितिलाई अनिवार्य गरिएको उल्लेख गर्दै अर्थमन्त्रीको अनुपस्थिति गैरसंवैधानिक रहेको भन्दै नियमापत्ति जनाए ।

‘विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहँदा अर्थमन्त्री यहाँ हुनु जरुरी थियो । उहाँलाई सदनमा उपस्थित गराएर मात्र छलफल अघि बढाउनुपर्छ,’ पाण्डेले भने ।

सभामुख देवराज घिमिरेले सचिवालयका कर्मचारीसँग परामर्श गरी अर्थमन्त्री पौडेल सोही विधेयकमाथिको छलफलका लागि राष्ट्रिय सभामा उपस्थित रहेको जानकारी प्राप्त भएको र चाँडै उपस्थिति हुने विश्वास रहेको जनाउँदै बैठकलाई निरन्तरता दिए ।