काठमाडौं, जेठ १ :

कप्तान इन्दु बर्माको तीव्र ब्याटिङले नेपाललाई बहराइनसँगको खेलमा हार हुनबाट जोगाएको छ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले वर्षाका कारण छोटिएको खेलमा ५६ रनको लक्ष्य ८ बल अगाडि नै पूरा गर्‍यो।

नेपालले ३.५ ओभरमै ४ विकेट गुमाएर २३ रन मात्र बनाएको अवस्थामा कप्तान इन्दुले ७ बलमा अविजित २४ रन बनाउँदै टिमलाई जितसम्म पुर्‍याइन्। उनले ४ चौका र १ छक्का प्रहार गरिन्।

पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ७६ रन बनाएको थियो। त्यसपछि परेको पानीले खेल रोकिएपछि नेपालले छोटिएको ७ ओभरमा ५६ रनको नयाँ लक्ष्य पाएको थियो।

अब नेपाल प्रतियोगिताको अर्को चरणमा पुग्न बहराइनले हङकङलाई हराउनु पर्नेछ। यदि हङकङले जित्यो वा खेल वर्षाले रोकियो भने नेपाल बाहिरिनेछ।