काठमाडौं, जेठ १ :

सेयर बजारका लागि यो साता सुखद रहेन । साताको कुनै दिन पनि सेयर बजार उकालो लागेन । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार ८.४१ अंकले ओरालो लागेको छ । योसँगै सेयर बजार २,६११.८५ विन्दुमा रोकिएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४४ अंकले घटेर ४४० अंकमा पुगेको छ ।

३२० कम्पनीको ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच भए । सोहीअनुरुप आजको दिनमा सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीनवटाको मात्रै सूचक बढ्दा बाँकी राताम्मे बनेका छन् । जसमध्ये होटेल तथा पर्यटन समूहको सूचक ३२२.८३ अंक, व्यापार समूहको सूचक ३०.८४ अंक र सामूहिक लगानी कोष समूहको सूचक ०.०५ अंकले बढेका हुन् । अरु समूहका सूचक भने राताम्मे रहे ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीको अग्रस्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सोल्टी होटेल लिमिटेड परेको छ । जसको अन्तिम कारोबार मूल्य ५७३ रुपैयाँ रह्यो ।