काठमाडौं, जेठ २ :

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र दुईवर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ ।

समितिको आजको बैठकले उक्त व्यवस्थासहित लामो समयदेखि समितिमा छलफलका क्रममा रहेको संघीय निजामतीसम्बन्धी विधेयक पारित गरेको समिति सचिव सुरजकुमार दूराले जानकारी दिए । ‘कर्मचारी सेवामा रहने उमेर हद ६० वर्ष, अतिरिक्त सचिबसम्बन्धी व्यवस्था, दुई वर्षको कुलिङ पिरियड रहने व्यवस्थासहित विधेयक समितिबाट पारित भएको छ,’ उनले भने । नयाँ प्रस्तावित व्यवस्थामा निजामती सेवामा १५ तह रहने व्यवस्था छ ।

निजामती सेवामा रहेको कर्मचारी अवकाश प्राप्त सरकारी कर्मचारीले अर्को जिम्मेवारी प्राप्त गर्ने सन्दर्भमा पर्खनुपर्ने समयावधिसम्बन्धी व्यवस्थालाई कुलिङ पिरियड भनिने गरिएको छ ।

यसअघि गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको जानकारी गराएका थिए । यसअघि एक वर्षको व्यवस्था गर्ने भनिएको थियो । सरकारले ल्याएको उक्त प्रस्तावमा समितिमा रहेका सबै सदस्य सहमत भएका थिए ।

संघीय निजामती विधेयकमाथिका छलफलमा भाग लिँदै समिति सदस्यले लोकसेवाप्रतिको छवि र ओजलाई घटाउन नहुने तथा कर्मचारीका उमेर हदका सम्बन्धमा सरकारको दुई वर्षको कुलिङ पिरियडसम्बन्धी प्रस्ताव उपयुक्त हुने सुझाव प्रस्तुत गरे ।

सदस्य अशोककुमार राईले निजामती विधेयकमा पर्याप्त छलफल भइसकेकाले अब फेरि अल्मलिँदा परिणाम दिन चुनौती हुने भएकाले अब अनावश्यक लम्याउन नहुने धारणा राखे । कुलिङ पिरियड दुई वर्ष राख्ने भन्ने सरकारको धारणाप्रति अन्यथा भन्न नमिल्ने बताउँदै उनले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउनुपर्छ भन्ने विषयमा लचिलो हुँदा नै राम्रो हुने बताए ।