
काठमाडौं, जेठ ४ :
सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेको छ।
न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले तामाङको थुनाबाट मुक्तिको निवेदन खारेज गर्दै विशेष अदालतको फैसला यथावत् राखेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तामाङले पुर्पक्ष थुनाबाहिरै बस्न पाऊँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए। तर, विशेष अदालतबाट पहिले नै फैसला भइसकेको भन्दै सर्वोच्चले कानुनबमोजिम अघि बढ्न आदेश दिएको हो।
विशेष अदालतले २०८० फागुन २१ गते तामाङलाई दोषी ठहर गर्दै १ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनलाई ३ अर्ब ३१ करोड बिगो गर्दै जग्गा र सम्पत्ति जफत गर्न माग दाबी गरेको थियो।