
काठमाडौं महानगरपालिका-२४ स्थित मखन टोलमा भएको आगलागी घटनाको छानबिनका लागि उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई समिति गठन गर्न निर्देशन दिएकी छन्।
उपप्रमुख डंगोलले १० दिनभित्र प्रतिवेदन बुझाउने गरी प्रभावकारी छानबिन समिति बनाउने आदेश दिएकी हुन्। आगलागीमा चार घर क्षति भएका थिए भने एक महिलाको ज्यान गएको थियो।
डंगोलले घटनास्थल पुगेर अनुगमन गरेकी थिइन्। दमकल समयमै नपुगेको, पानी नभएको र बाटोमा निर्माण सामग्रीले अवरोध गरेको जस्ता गुनासा आएको जनाउँदै उनले ती सबै विषयमा गहिरो अध्ययन गरी यथार्थ प्रतिवेदन दिन निर्देशन दिएकी छन्।
छानबिनका क्रममा सरोकारवाला निकायहरूसँग छलफल गर्न र पीडितलाई क्षतिपूर्तिको विषयमा पनि ध्यान दिन उनले स्पष्ट पारेकी छन्।डंगोलले भनिन्, ‘कमजोरी कहाँ भयो, कसको लापरबाही थियो भनेर पत्ता लगाउन रिपोर्टको आधारमा अघि बढ्छौं ।’
दयाराम श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट हुँदा सँगैको रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति पुगेको छ।