काठमाडौं, जेठ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितले कहिले न्याय पाउने हुन् भनी सरकारसँग प्रश्न गरेकी छन्।

प्रतिनिधिसभाको मंगलबारको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मिटरब्याज समस्याको समाधानका लागि अघिल्ला आयोगले दिएका सुझाव र कार्यविधि कार्यान्वयन गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘गौरीबहादुर कार्कीको सुझाव र तेजबहादुर कार्की आयोगको कार्यविधि लागू गरियो भने ८० प्रतिशत समस्या समाधान हुन्छ। तर त्यसका लागि दोषीलाई कारबाही गर्नुपर्छ।’

श्रेष्ठले सरकारले आयोगमाथि आयोग थपेर पीडितलाई झन् गिजोलिरहेको भन्दै असन्तुष्टि जनाइन्। सोमबारको छलफलमा आयोग अध्यक्षले पीडितको मागअनुसार काम गर्न नसक्ने भनेको स्मरण गराउँदै उनले अघिल्लो आयोगलाई असहयोग गरिएको र अहिले कामचलाउ प्रतिवेदनका लागि नयाँ आयोग बनाइएको आरोप लगाइन्।

सिंहदरबारमा पीडितलाई ‘नो इन्ट्री’ भनिएकोप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले साहु-महाजन जोगाउन मिटरब्याज मुद्दामा राजनीति नगर्न र पीडितलाई न्याय दिन सरकारलाई आग्रह गरिन्।