काठमाडौं, जेठ ६ :
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रिक्त उपकुलपति पदमा नियुक्तिका लागि तीन सदस्यीय सर्च कमिटी गठन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित समितिमा शिक्षा सचिव दीपक काफ्ले र राष्ट्रिय योजना आयोगकी सदस्य डा. गीता अधिकारी पौडेल सदस्यको रूपमा सहभागी छन् ।
प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी ओलीले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन उक्त सर्च कमिटी गठन गरेका हुन् ।
यसअघि उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि त्रिविको उपकुलपति पद रिक्त भएको थियो । अब सर्च कमिटीले उपयुक्त उम्मेदवार छनोट गरी नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउनेछ ।