नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताउनुभएको छ ।
काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आज काठमाण्डौंमा आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेता डा कोइरालाले दण्डहीनता अन्त्य गर्न र जन अपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छा शक्ति हुनुपर्ने विचार व्यक्त गर्नुभयो । “हामी सक्छौं भन्ने सोच विकास गरेर अघि बढेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । अब कुरा गरेर हुने स्थिथि छैन । त्यसैले दण्डहीनताको अन्त्य र सुशासन प्रवर्द्धन गर्ने गरी काम गरौं”, उहाँले भन्नुभयो ।
काँग्रेस नेता एवं पूर्व मन्त्री डा मीनेन्द्र रिजालले मुलुकको समृद्धिका लागि सेवामा आधारित जनशक्ति विकास र सरकारी सेवा प्रवाह चुस्त बनाउनु आवश्यक रहेको बताउनुभयो ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्रै रोजगारी सिर्जना गर्न जमिनको वर्गाीकरण गरेर, जमिन बाँझो रहने समस्या हल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विभागका संयोजक डा गोविन्द राज पोख्रेल,पूर्वमुख्य सचिवहरू डा विमल कोइराला र वैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्व सचिवहरू लगायतले भाग लिई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।