काठमाडौं, जेठ ९ :

नागढुंगा सुरुङमार्ग आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी ६ महिनाभित्र सुरुङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।

९० प्रतिशत भौतिक प्रगति भइसकेको र अहिले १० प्रतिशत काम मात्र बाँकी रहेको नागढुंगा सुरुङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको परामर्शदाता संस्था निप्पन कोइकाका इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।

‘अहिले उपकरणहरूको परीक्षण र समग्र सुरुङमार्गको कार्यमा तिनको संयोजन भइरहेको छ । सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौं,’ उनले भने, ‘अहिले उक्त सञ्चालक निकायको छनोट प्रक्रिया अगाडि बढिरहेको छ र छनोट भएपछि तालिम लिनुपर्ने हुन्छ । जसमा दुई महिनाजति लाग्न सक्छ ।’

उनका अनुसार सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार तथा सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) उपलब्ध गराउने कार्यलाई अन्तिम रूप दिइँदैछ ।

पूर्वीमुख काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने २.७ किलोमिटर लामो सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धारलगायत कार्यका लागि सहायक सुरुङसमेत खनिएको छ ।

सञ्चालनमा आएपछि नागढुंगादेखि बलम्बुसम्मको भौतिक दूरी करिब ३ किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा देखिने जाम, उकालो र घुमाउरो बाटोजस्ता कारण इन्धन तथा सडक प्रयोगकर्ताको करिब एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग निर्माणका क्रममा देखिएका भौगोलिक अनिश्चितता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको कोइरालाले बताए । सुरुङमार्गमा निस्किने पानीको व्यवस्थापनबारे स्थानीय बासिन्दा, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराए ।

सिस्ने खोलातर्फ निर्माण गरिँदै आएको पार्कको काम भने जग्गाको स्वामित्वसम्बन्धी विवादका कारण स्थगित गरिएको छ । मालपोत दस्ताबेजमा सो जग्गाधनीको नामअन्तर्गत सडक विभाग र व्यक्तित्व दुवैको नाम परेकाले त्यहाँ अप्ठ्यारो भएको कोइरालाले बताए । -रासस