काठमाडौं, जेठ ११ :

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

गभर्नर नियुक्तिपछि पहिलोपटक दुई शीर्ष नेताबीच भएको यो भेटमा समसामयिक राजनीतिक घटनाक्रम, आगामी जेठ १५ मा प्रस्तुत हुने बजेट तथा गणतन्त्र दिवसका कार्यक्रमबारे छलफल केन्द्रित भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

देउवाका साथ उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी थिए । एमालेतर्फ प्रधानमन्त्री ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।

भिजिट भिसा प्रकरणका कारण आलोचना झेलिरहेका गृहमन्त्री लेखक पनि भेटमा सहभागी गराइएका कारण राजनीतिक वृत्तमा यो भेटप्रति चासो बढेको छ ।

कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएको समान धारणा दुई दलका नेताहरुले छलफलमा  राखेको बताईएको छ ।