रसुवा, भोटेकोशीलगायत विभिन्न क्षेत्रमा बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले ३ हजार २९२ जना नेपाली र ६२३ जना विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार बेपत्ता व्यक्तिका हकमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो।
बैठकले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसँग सम्बन्धित विभिन्न नीतिगत निर्णयसमेत गरेको छ। बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ।
यसैगरी, विपद्को जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णयसमेत बैठकले गरेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका गाउँ र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाभित्रका सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।
त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङमा स्थानान्तरण गरिने भएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न पनि बैठकले स्वीकृति दिएको छ।
बैठकले वन डढेलोबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३’ र ‘कार्ययोजना, २०८३/८४–२०९१/९२’ समेत स्वीकृत गरेको छ।
त्यसैगरी, वायु प्रदूषणबाट उत्पन्न हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७’ पनि स्वीकृत गरिएको छ।