
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको सार्वजनिक रुपमा राजीनामा माग गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्नुपर्ने माग भएको छ ।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा नेता डा. शशांक कोइरालाले गृहमन्त्रीको राजीनामा मागिएकोप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने सुझाव पार्टी सभापतिलाई दिएको बताए ।
‘हामी सभापतिलाई तपाईंले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो ? भन्ने यसको त समाधान निकाल्नुपर्यो नि । एक-आपसमा मूडभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा ? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ,’ शशांकले पत्रकारसामु भने ।
यद्यपि सभापति देउवाले यस विषयमा भने कुनै जवाफ नदिएको शशांकको भनाइ छ ।
पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष भएको निष्कर्ष निकाल्दै राजीनामा दिन नपर्ने निर्णय सुनाएको छ ।
भिजिट भिसा प्रकरणमा संस्थापनइतरका नेता डा. शेखर कोइरालासहित नेताहरु डा. सुनील शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग सार्वजनिक रुपमा अभिव्यक्ति दिइराखेका छन् ।
यही प्रकरणमा गृहमन्त्री लेखकका सचिवालय सदस्यहरू संलग्न रहेको आरोप लागेसँगै नेताहरुले यस्तोमा माग गरेका हुन् । जसमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत राजीनामाको माग गरेका छन् ।
अझ भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै रास्वापा र माओवादीले सदन अवरोधको तयारी गरिरहेका छन् ।