काठमाडौं, जेठ १२ :

आईओएफटीसी नेपालको आयोजना १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) हुने भएको छ । आईओएफटीसीले आफ्नो २५औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आईओएफटीसीको १४औं संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।

निरन्तरताको हिसाबले प्रतियोगिताको १५औं संस्करणको आयोजना मिति २०२६ रहे पनि आईओएफटीसी २५ वर्ष पुगेको अवसरमा एक वर्ष अघि नै आयोजना गर्न लागेको आईओएफटीसीका निर्देशक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले सोमबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराए ।

महर्जनले सन् २००० मा पहिलोपटक प्रतियोगिता नेपालमा भएको जानकारी गराउँदै २५औं वार्षिकोत्सवको उपलक्ष्यमा यो प्रतियोगिता आयोजना नेपालमै गरिन लागेको बताए ।

प्रतियोगितामा आयोजक नेपाललसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको र माल्दिभ्सलगायत राष्ट्रको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आईओएफटीसी नेपालका महासचिव गिरीबहादुर सुनारले जानकारी गराए ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ-आठ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै जुनियरतर्फ महिला र पुरुष गरी १०-१० तौलसमूह र क्याडेट वर्गमा १०-१० तौलसमूहमा खेलाइनेछ । यसैगरी सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी ३ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

योबाहेक बोर्ड ब्रेकिङ इभेन्टलाई पनि प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि भिडन्त हुनेछ ।

प्रतियोगितामा ओलम्पिक खेलकुद प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण पदक विजेता तथा विश्व ओलम्पिक तेक्वान्दो फेडेरेसनका अध्यक्ष मुन डाइ सुङ र कुकिवनका प्रशिक्षक मिन हाक सिओलेको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे थप प्रकाश पार्दै निर्देशक महर्जनले भने, ‘आईओएफटीसीको २५औं वार्षिकोत्सव नेपालमा मनाउन पाउँदा निकै खुसी लागेको छ । यहाँहरुको साथ र सहयोगले च्याम्पियनसिप यहाँसम्म आइपुगेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको छ ।’

महर्जनले आफूले सोचेको जसरी तेक्वान्दो खेल्न नपाए पनि अन्य खेलाडीहरुले यस्तो कुराको समाना गर्नु नपरोस् भनेर आईओएफटीसी अवधारणा अघि सारेको बताए ।