काठमाडौं, जेठ १३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

रास्वपाका सांसद शिशिर खनालले भिजिट भिसाको आडमा संगठित मानव तस्करी र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधहरू भएको दाबी गर्दै यस विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए ।

उनले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखक र उनको सचिवालय मुछिएको भन्दै अनुसन्धान निष्पक्ष र प्रभावकारी बनाउन उच्चस्तरीय आयोग आवश्यक भएको तर्क गरे ।

खनालले गृहमन्त्री लेखकको तत्काल राजीनामा समेत माग गरेका छन् । ‘गृहमन्त्री स्वयं मुछिएको अवस्थामा उनी पदमा रहँदा निष्पक्ष छानबिन सम्भव छैन,’उनले भने, ‘त्यसैले उनले राजीनामा दिनुपर्छ ।’ रास्वपाले यसअघि पनि विभिन्न समयमा भिजिट भिसा दुरुपयोग गरेर मानव तस्करी हुने गरेको भन्दै आवाज उठाउँदै आएको थियो ।