
जेठ १५ मा काठमाडौंमा पूर्वराजावादी समूह र नेकपा एमाले दुवैले कार्यक्रम राखेपछि राजधानीमा ठुलो शक्ति प्रदर्शनको तयारी देखिएको छ। यसले सुरक्षा चुनौती बढाएको छ।
राजावादी समूहले रत्नपार्कमा प्रदर्शन गर्ने बताएको छ। तर अहिलेसम्म प्रशासनसँग अनुमति मागेका छैनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन विद्रोह भएको भन्दै स्थानको अनुमति आवश्यक नरहेको दाबी गरेका छन्।
सरकारले भने व्यवस्था उल्ट्याउने उद्देश्यका प्रदर्शनलाई ठाउँ नदिने नीति लिएको उच्च स्रोतले जनाएको छ। प्रशासनले तीनकुने क्षेत्रमा राजावादीलाई प्रदर्शन गर्न नदिने तयारी गरेको छ। चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सरकार सशंकित बनेको छ।
त्यो दिनको प्रदर्शनमा आगजनी, तोडफोड र दुईजनाको मृत्यु भएको थियो। दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शन हिंसात्मक बनेपछि ६५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। प्रसाईंसहित केही नेताहरू अहिले पनि थुनामै छन्।
यसपटक पनि प्रदर्शन हिंसात्मक हुन सक्ने आंशकामा सुरक्षा निकाय सजग भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रशासनबीच समन्वय गरी सुरक्षा योजना बनाइएको छ।
उता, नेकपा एमालेले पनि सोही दिन गणतन्त्र दिवसका अवसरमा रत्नपार्क वरपरै कार्यक्रम राख्ने गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘१५ जेठ ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिले सुरक्षा निकाय थप सतर्क बनेको छ।
प्रहरीले स्थिति संवेदनशील भएको भन्दै उच्च सतर्कता अपनाएको जनाएको छ। जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र प्रशासनबीच समन्वय गरी कमान्ड पोस्ट खडा गर्ने तयारी भइरहेको छ।
बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेर अन्तिम सुरक्षा योजना लागू गरिने बताइएको छ। प्रशासनले सबै कार्यक्रमको अनुमति र स्थानबारे निर्णय यही बैठकमा गर्ने जनाएको छ।