
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज पेसी तोकिएको छ ।
पौडेलको नियुक्ति बदरको माग गर्दै हिजो अधिवक्ताहरू विशाल थापा,प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ ले तोकेको विज्ञता समेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिट दायर गरिएको हो ।
यसअघि नियुक्ति रोक्न माग गर्दै उनीहरू पौडेल गभर्नर नियुक्त नहुँदै रिट लिएर सर्वोच्च पुगेका थिए । प्रशासनले उक्त रिट दरपिठ गरिदिएकोमा इजलासले पनि उक्त दरपिठ सदर गरेको थियो ।
सरकारले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ संशोधन गरेको थियो । सो संशोधन खारेजको माग गर्दै तीन जना अधिवक्ताले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
सर्वोच्चले गत वैशाख २ गते गभर्नर नियुक्तिमा ६५ वर्षे उमेर हद संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त रिटसँगै गभर्नर नियुक्ति विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुदैछ ।