काठमाडौं, जेठ १४ :

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने गरी संसद सचिवालयले कार्यतालिका सार्वजनिक  गरेको छ  ।

हिजोको बैठक भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले सदनमा अवरोध पुर्याएपछि आज बस्ने गरी स्थगित गरिएको थियो ।  बैठक स्थगित भएपछि संसदको अवरोध खुलाउनका लागि हिजै सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलहरुसंग छुट्टाछुट्रटै छलफल गरेका थिए। तर हिजोको छलफलमा कुनै ठोस सहमति हुन सकेन ।

आज फेरी सभामुख  घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।  ११ बजे बस्ने संसदको  बैठकअघि सभामुखले अहिले संसद भवन नयाँ वानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।  

हिजो प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै सदन अघि बढ्न नदिने बताएका थिए ।