
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले प्रदेशका विभिन्न जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र तथा ग्रिड महाशाखाहरूको संयुक्त अनुगमन गरेको छ । अनुगमनका क्रममा सेवाप्रवाह मूल्यांकन पनि गरिएको छ ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोसी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जामन्त्री दीपक खड्काका स्वकीय सचिव भूपालमान बस्नेतसहितको टोलीले आइतबार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरीलगायत वितरण केन्द्र तथा ग्रिड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् । टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तर्क्रिया गर्दै विद्युत् सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्त्वपूर्ण जानकारी संकलन गरेको छ ।
टोलीले विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रिड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए पनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ ।
अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ । सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत् अवरुद्ध नभएको पुष्टि भयो ।
थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दु:ख दिने नियतले अपमानजनक र धम्कीपूर्ण शैलीको भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्ममा राखिदिने बताएका थिए ।
ऊर्जामन्त्रीका स्वकीय सचिव भूपालमान बस्नेतका अनुसार ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ । उनले झुटा जानकारीमार्फत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेको निष्कर्षमा पुगेपछि सम्बन्धित निकायमा सूचना दिइएको हो । अहिले ती व्यक्तिको सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
केही दिनअघि मात्रै ऊर्जामन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउने चेतावनी दिएका थिए । यो उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ।
ऊर्जा मन्त्रालय र कोसी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिँदै, सत्य र तथ्यका आधारमा सेवाप्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ । साथै मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने जनाएको छ ।