
‘गर्भपतनको अधिकार : प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम राजधानीमा आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा महिला, कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सीआरआर)ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महिलाको गर्भपतन अधिकारलाई निरअपराधीकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।
संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत गर्भपतनको अधिकार : प्रजनन स्वास्थ्य अधिकार हो भन्ने कुराको सचेतना गरिएको थियो ।
अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, सर्वोच्च अदालतको व्याख्या र अधिकारकर्मीहरुले गर्भपतनलाई अपराधका घेरामा राख्न नहुने बताइयो । महिलाको मानवअधिकारलाई सुरक्षित राख्न अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा सुधार गर्नुपर्ने एफडब्ल्यूएलडीका सचिव लक्ष्मी पोखरेलले बताइन् । अनिच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने सचिव पोखरेलले बताइन् ।
सहयात्रा वृत्तचित्रमार्फत सहभागीलाई अहिलेको कानुनले गर्भपतनलाई अपराधीकरण गरेको दृश्य देखाइएको थियो । वर्तमान ऐनले नेपाली समाजमा पारेको प्रभावले कस्ता समस्या सिर्जना गरिएको छ भन्ने देखाइएको थियो । यसैगरी कवि पुरुषोत्तम मिश्रले एउटी आमाको प्रश्न कवितामार्फत गर्भपतनको अधिकार : प्रजनन स्वास्थ्य अधिकारबारे चर्चा गरिएको थियो ।
एफडब्ल्यूएलडीका अधिवक्ता नवीनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भिजिबिलिटी इम्प्याक्ट समूहले किशोरीहरुको चाहना, वर्तमान अवस्था र समाजले डोर्याउन खोजेको बाटोबारे गीत र नाटकमार्फत सकारात्मक सन्देश दिइएको थियो ।
उनीहरुको प्रस्तुतिमा सन्देशको प्रभावकारिता देखिन्थ्यो । यसैगरी शैली थिएटरका कलाकारले एउटा परिवारमा लापरबाहीले कस्तो दुर्घटना निम्त्याउँछ भन्ने देखाइएको थियो ।
एफडब्ल्यूएलडीका अध्यक्ष गीता अर्यालको सभापतित्वमा भएको कार्यक्रममा सीआरआरका प्रभाकर श्रेष्ठले गर्भपतनको अधिकार : प्रजनन स्वास्थ्य अधिकारको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।