
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर संसद चलाउन अनुरोध गरेका छन्। तर प्रचण्डले यो फोन कांग्रेसलाई खुसी पार्नका लागि भएको हुनसक्ने बताएका छन्।
बानेश्वरमा विपक्षी दलहरूको बैठक चलिरहेका बेला ओलीले बालुवाटारबाट प्रचण्डलाई फोन गरेका थिए। बैठक गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्नेबारे छलफल गर्न बोलाइएको थियो।
प्रचण्डसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भनेका थिए,‘खरदार–सुब्बा तानिनेबित्तिकै मन्त्रीले राजीनामा दिनुपर्ने कुरा कहाँ लेखिएको छ?’त्यसैले संसद चल्न दिनुपर्यो, गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण पनि सिर्जना गरिदिनुपर्यो।’
ओलीले प्रचण्डलाई भने, ‘सोधपुछ सुरु हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने छैन। संसद चल्न दिनुपर्यो।’
तर प्रचण्डले भने, ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन। उहाँको संलग्नताका प्रमाणहरू आइरहेका छन्।’
ओलीले संसद रोकिनु राजावादीलाई फाइदा हुने बताए। जवाफमा प्रचण्डले भने, ‘यो मागले राजावादीलाई होइन, गणतन्त्रलाई बलियो बनाउँछ।’
ओलीसँगको फोनवार्ताबारे जानकारी दिइरहँदा प्रचण्डले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री लेखक बालुवाटारमा बैठकमा रहेको थाहा पाए।
अब विपक्षी दलहरूले लेखकमाथि छानबिन र उनको राजीनामा नआएसम्म संसद नचाल्ने अडान कायमै राखेका छन्।