काठमाडौं, जेठ १४ :

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ। पीएसओ फिर्ता परेकामध्ये प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह छन्।

शाहीले सरकारको यो कदमलाई अस्वाभाविक भन्दै विरोध जनाएका छन्। शाहीका अनुसार आफूहरूले भोलि रत्नपार्कस्थित शान्तिवाटिकामा शान्तिपूर्ण कार्यक्रम गर्न लागेको र त्यहाँ कुनै घटना भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्नेछ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सरकारले हाम्रो पीएसओ खोसेको छ। संसदमा सबै सांसद बराबर हुनुपर्थ्यो, तर त्यो भएन।’

उनले प्रधानमन्त्रीले संविधान र कानुन उल्लंघन गर्दै उत्तेजक भाषा प्रयोग गरी भिड जम्मा गरेर देशमा द्वन्द्व गराउन खोजेको आरोपसमेत लगाए।

शाही प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समितिका सदस्य र प्रधान पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) भएका कारण उनीहरूलाई सुरक्षा दिइएको थियो।

यसैबीच, प्रहरी प्रधान कार्यालयले भने पीएसओलाई फिर्ता गरेको नभई नियमित ब्रिफिङका लागि बोलाइएको  प्रस्ट पारेको छ ।  

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने आफूसहित तीन सांसदको पीएसओ सरकारले फिर्ता लगेको भन्दै आपत्ति जनाएका थिए ।  नियमित हुने ब्रिफिङका लागि पीएसओ हेडक्वाटर पुगेका थिए।