काठमाडौं, जेठ १४ :

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएको हो।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजेमात्र सुरु भएको थियो। ७ मिनेट मात्रै सञ्चालनमा आएको बैठकमा विपक्षी सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सुरुमा ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

तर, प्रमुख सचेतकहरूसँगको छलफल र प्रयासका बाबजुद सहमति नजुटेपछि सभामुखले बैठक भोलिसम्म स्थगित गरेका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएपछि विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै निरन्तर दबाब दिँदै आएका छन्।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा नै आफ्नो 'बटम लाइन' भन्दै अडानमा कायम रहेपछि बैठक फेरि स्थगित गरिएको हो।