काठमाडौं, जेठ १४ :

नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई आजै कारागार मुक्त भएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उनलाई ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दामा सफाइ दिएपछि रिहा गरिएको हो। 

उच्च अदालत वीरगञ्जबाट पत्र आइपुगेको र बुधबार राति छाडिएको हो । उनी ललितपुरस्थित नख्खु कारागारमा बन्दी जिवन विताइरहेका थिए ।

यसअघि रौतहट जिल्ला अदालतले आलमसहित चार जनालाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगको अभियोगमा जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई निर्दोष ठहर गरेको हो।

कांग्रेसका पूर्वसांसद अफताब आलमले पाए उच्च अदालतबाट सफाइ
 

वि.सं. २०६४ चैत २७ गते संविधानसभा निर्वाचनताका आलमको रौतहटस्थित घरमा बम विस्फोट भएको थियो। बम बनाउने क्रममा घाइते भएका व्यक्तिहरूलाई चिम्नीमा हालेर मारिएको आरोप लागे पनि अदालतले सो प्रमाण पुष्टि नहुने ठहर गरेको छ।

१२ वर्षपछि २०७६ असोज २६ मा मात्र आलम पक्राउ परेका थिए। उनीविरुद्ध प्रहरी प्रशासन लामो समय निष्क्रिय रहेकोमा सर्वोच्च अदालतको कडा निर्देशनपछि मात्र अनुसन्धान अघि बढेको थियो। सांसद र मन्त्री भइसकेका आलमले अघिल्ला दिनमा घटना ढाकछोप गर्न शक्ति प्रयोग गरेको आरोप लाग्दै आएको थियो।