
चेम्बर अफ कर्मशका अध्यक्ष कमलेशकुमार अग्रवालले विषम् परिस्थितिमा आएको आगामी आर्थिक वर्षको बजेट विकासमुखी र केही महत्त्वकांक्षी भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आगामी आवको बजेट लगानी प्रवर्धन गर्ने खालको आएको प्रस्ट्याए । आईटी र प्रविधिलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको पनि उनको भनाइ छ ।
तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशिने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।
यस्तै पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । त्यसमा हवाई टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने बताउँदै उनले यसमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।
यस्तै उनले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नदीजन्य उत्खननका विषयहरु पनि आएकाले यसमा निकै सहज हुनुपर्ने उनको भनाइ छ ।
ठुला राष्ट्रबाट आउने अनुदानहरुमा कमी आउने देखिँदा अर्थतन्त्रमा असर गर्ने पनि उनले बताए । व्यवसायमा संकुचन भएको अवस्थामा पुनर्कर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मोद्रिक नीतिबाट सम्बोधन गर्नुपर्ने बताए ।