
काठमाडौंमा आजदेखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएपछि सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ । अत्यावश्यक कामले घरबाट निस्किएका नागरिक सवारी साधन नपाएर सडकमै अलपत्र परिरहेका छन् ।
यातायात व्यवसायीहरूको आकस्मिक बन्दका कारण मात्र बिरामी हैनन्, काममा जाने कर्मचारी, विद्यालय जाने विद्यार्थी, र दैनिक मजदुरीमा निर्भर सर्वसाधारण समेत प्रभावित भएका छन् ।
सुन्धारामा त्रिवि शिक्षण अस्पतालतर्फ लागेकी एक महिला बिरामी पनि यही समस्यामा परेकी छन् । पेट र नशाको समस्याबाट पीडित ती महिलालाई नियमित फलोअपका लागि अस्पताल लाने तयारी गरिए पनि सार्वजनिक यातायात बन्द हुँदा बीच बाटोमै अलपत्र परेको तस्बिरहरु समाजिक सञ्जालमा छरपष्ट भएका छन् । ती बिरामी महिलालाई उनका आफन्तले हात समातेर सकिनसकि हिँडाएका छन् ।
‘उहाँलाई मोटरसाइकलमा पनि बस्न गाह्रो छ, एम्बुलेन्सको आवश्यकता छैन, तर सामान्य सवारी साधन पनि नपाएर हैरान भयौं,’ ती परिवार सदस्यको भनाइ छ ।
सार्वजनिक सेवामाथिको यस्तो एकपक्षीय दबाबले नागरिकको आधारभूत आवागमन अधिकारमाथि ठुलो चोट पुगेको जनगुनासो बढ्दो छ । अत्यावश्यक सेवा प्रभावित पार्ने गरी गरिएको बन्दप्रति सरकारको मौनता र व्यवस्थापनको अभावसमेत आलोचनाको विषय बनेको छ । यातायात बन्द कहिलेसम्म जारी रहने हो र त्यतिन्जेलसम्म सर्वसाधारण सास्ती खेप्न बाध्य हुनेछन् ।