काठमाडौं, जेठ १९ :

राइड सेयरिङ एप पठाओले भाडा नबढाएको प्रस्टीकरण दिएको छ ।

सार्वजनिक यातायात नचलेको मौका पारेर राइड सेयरिङ एपले शुल्क बढाएको समाचारहरू आइरहेको भन्दै नियमित शुल्क मात्रै लिएको पठाओले जनाएको हो ।

यात्रुको सहजताका लागि क्वेस्ट (ट्रिप टार्गेट बोनस) र इन्सेन्टिभ दिएर धेरै राइडका लागि राइडरहरूलाई प्रोत्साहन गरिएको कम्पनीको भनाइ छ । पठाओले सुरक्षित यात्राका लागि अफलाइन यात्रा नगर्न पनि यात्रुलाई अनुरोध गरेको छ ।

‘अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यसअगाडि पनि आउने गरेकै छ । अफलाइन यात्रामा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन हामी अनुरोध गर्दछौं,’ पठाओको आग्रह छ ।

पठाओले कुनै समस्या परेमा वा गुनासो तथा उजुरी गर्न चौबीसै घण्टा सञ्चालनमा रहने कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गर्न सकिने पनि जनाएको छ ।

यस्तै नेपाल प्रहरीले पनि पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ एपका राइडरले यात्रुलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गरिरहेको गुनासो आइरहेको भन्दै यस्तो कार्य नगर्न चेतावनीसँगै कसैले गरेको पाइए ट्राफिकलाई खबर गर्न अनुरोध गरेको छ ।