काठमाडौं, कात्तिक १० :
नेपाली कांग्रेसका सभापति गगन थापाले नेता आउँदा विमानस्थलमा खादामाला लिएर स्वागत गर्न जाने परम्परा अन्त्य गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पोखरामा आज आयोजित कार्यक्रममा बोल्दै थापाले नेताको स्वागतमा हुने भीडभाडले आमनागरिकलाई दिक्क लाग्ने भन्दै पार्टीको कार्यशैली र सोच बदल्नुपर्ने बताए। आफू आमनागरिकसँग सहज रूपमा भेटघाट र संवाद गर्न चाहेको उनको भनाइ थियो।
थापाले मंसिर महिनाभर अन्य पार्टीमा गएका पूर्वकांग्रेस कार्यकर्तालाई पुनः पार्टीमा जोड्न अभियान सञ्चालन गर्ने प्रस्ताव पनि अघि सारे। केन्द्रीय सदस्यहरूलाई गाउँगाउँमा जिम्मेवारीसहित खटाउने र उम्मेदवार सम्बन्धित तहबाटै चयन गर्ने उनले बताए।
उनले १५औँ महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।