काठमाडौं, जेठ १९ :

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।

एमाले संसदीय दलको आज (सोमबार) बानेश्वरमा भएको बैठकमा उनले भोलि (मंगलबार) देखि संसद्‌का नियमित गतिविधि सञ्चालन हुने बताए ।

‘भोलिदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालजीसँग कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैं बन्द हुँदैन,’ ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो ।’

खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्ण रुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्त्व दिन निर्देशन दिए ।

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै ओलीले राजतन्त्र आजको बहसको विषय नै नभएको दाबीसमेत गरे ।

‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनःस्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ,’ ओलीले भने, ‘समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।’

कतिपय पक्षमा सत्ता छोड्नु परेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको दाबी गरे । ‘सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ,’ ओलीले भने ।