काठमाडौं, जेठ २० :

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण आज (मंगलबार) देखि होटेल सोल्टीमा सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन संघ-संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्य यो मार्ट आयोजना गरेको हो ।

मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ ।

यही जेठ २२ गतेसम्म मार्ट सञ्चालन हुनेछ । मार्टअन्तर्गत मंगलबार पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ । सम्मेलनका वक्ताहरुले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दिगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताएका छन् । उनले पछिल्लो समय पर्यटनका नयाँ क्षेत्रहरू थपिँदै गएको उल्लेख गरेका छन् । ‘करिब ३० वर्षअघि नेपालको ग्रामीण क्षेत्र ७० प्रतिशत थियो, तर अहिले यो अनुपात ५०-५० प्रतिशत भएको छ,’ सीईओ जोशीले भने, ‘हामी जति सहरीकरणतर्फ गइरहेका छौं, पर्यटन त्यति नै प्रकृतिमा आधारित बन्दै गएको छ ।’

सम्मेलनमा पाटाका आजीवन सदस्य एन्ड्रियो जोन, पाटा बंगलादेश च्याप्टरका अध्यक्ष साहिद हमिद, अभिनेत्री निशा अधिकारीले आफ्ना धारणा राखेका थिए ।

मार्टका संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तर्राष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटन मार्ट आयोजना गरिएको बताए । सन् २०१७ देखि प्रत्येक वर्षको जुन महिनामा आयोजना हुँदै आएको मार्ट नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेसेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर प्रदान गर्ने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।

मार्टअन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् । त्यसैगरी बीटूबी कार्यक्रमअन्तर्गत यस वर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अस्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सीआईएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बंगलादेश र श्रीलंका गरी ६ वटा
गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी हुने बोर्डले जनाएको छ ।