
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को फाइनल जितेर १८ वर्षको खडेरी समाप्त गर्यो । आरसीबी पहिलोपटक आईपीएल च्याम्पियन बनेको हो ।
पन्जाब किंग्सले अब ट्रफीका लागि लामो समय कुर्नुपर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर विजेता-उपविजेता रहेका यी दुवै टिमले भने पुरस्कारबापत कुस्त रकम हात पारेका छन् ।
आरसीबीले पुरस्कार रकमका रुपमा २० करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ । यस्तै फाइनलमा हारेको अर्थात् उपविजेता पन्जाब किंग्सले साढे १२ करोड रुपैयाँ हातपार्न सफल भयो ।
यीबाहेक आईपीएल २०२५ मा सबैभन्दा धेरै रन बनाउने गुजरात टाइटन्सका साई सुदर्शनले ओरेन्ज क्याप पाएका छन् ।
उनले १५ खेलको १५ इनिङमा ७५९ रन बनाए । यसमा एक शतक र ६ अर्धशतक समावेश छन् ।
ब्याटजस्तै गुजरात टाइटन्सले बलमा पनि आफ्नो शक्ति देखाएको छ । यो टोलीका प्रसिद्ध कृष्णले सबैभन्दा धेरै २५ विकेट लिएसँगै पर्पल क्याप हात पारे ।
आईपीएलको सबैभन्दा सफल टोलीमध्ये एक मुम्बई इन्डियन्सका सूर्यकुमार यादव मोस्ट भ्यालुएबल प्लेयर बने । साथै राजस्थान रोयल्सका वैभव सूर्यवंशीलाई सिजनको सुपर स्ट्राइकर घोषित गरियो ।
सात खेलका सात इनिङमा वैभवले २०६.५५ को स्ट्राइक रेटमा २५२ रन बनाए । चेन्नई सुपर किंग्सले आईपीएल २०२५ को फेयर प्ले अवार्ड प्राप्त गरेको छ । -बीबीसी