
धादिङको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि प्रसारण लाइन विस्तार गर्न ल्याइएको विद्युतीय सामग्री सिद्धलेक गाउँपालिकाको परेवाटारमा अलपत्र छाडेको वर्षौं बित्यो । ती अलपत्र सामान कामै नलाग्ने अवस्थामा पुगिसकेका छन् ।
यो विद्युतीय सामान धादिङको कुन स्थानमा विद्युतीकरणका लागि ल्याइएको हो भन्नेसमेत स्थानीय बासिन्दा बेखबर छन् । धेरै सामान त चोरीसमेत भइसकेका छन् । स्थानीय बासिन्दाका अनुसार ती सामान कसले कहाँ लैजान्छ पत्तोसमेत हुँदैन ।
बाँकी रहेका सामान पनि कामै नलाग्ने गरी बिग्रने अवस्थामा पुगेका छन् । ती सामग्री राखेका स्थान झाडीले छपक्कै छोपेको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा प्रयोग हुने कतिपय सामान त माटोमा पुरिएका छन् । २०७७ सालमा अमिर कन्स्ट्रक्सन एन्ड सप्लायर्स नामक निर्माण कम्पनीले जमिन भाडामा लिए ती सामान राखेको हो ।
जमिन भाडामा लिए पनि हालसम्म निर्माण कम्पनीले जग्गाधनीलाई भाडासमेत दिएको छैन । अझ निर्माण कम्पनीका सञ्चालक नै सम्पर्कविहीन भएको जग्गाधनी केशव थपलिया बताउँछन् ।
उनका अनुसार स्थानीय बासिन्दाले समेत ती सामग्री हटाउन विद्युत् प्राधिकरण धादिङलाई पटक-पटक आग्रह गरे पनि सुनुवाइ भएको छैन । ‘प्राधिकरणले समेत सामान कहाँको र कसले के प्रयोजनका लागि ल्याएको आफूहरुलाई थाहा नभएको जवाफ दिँदै आएको छ,’ जग्गाधनी केशव थपलियाले गुनासो गरे ।
जिल्लाका विभिन्न स्थानमा केन्द्रीय विद्युत् प्रसारण लाइनका विस्तारका लागि केन्द्र सरकारले ती सामग्री ल्याएको सप्लायर्स कम्पनीको भनाइ छ । लाखौं पर्ने ट्रान्सफर्मा, तार, विद्युतीय गट्टालगायत प्रसारण लाइन विस्तारमा प्रयोग हुने महत्त्वपूर्ण सामग्री अलपत्र हुँदासमेत सरोकारवाला निकायले वास्ता नगरेको स्थानीय बताउँछन् । जसका कारण राज्यको ठुलो रकम दुरुपयोग भएको छ ।