ओखलढुंगा, जेठ २३ :

ओखलढुंगाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले जनाए । उद्धार गरिएका सबै गर्भवती-सुत्केरीलाई काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको उनको भनाइ छ ।

उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलले बताए । ‘सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जानसक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको छ,’ उनले भने ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताइन् । ‘पहिले दुर्गम क्षेत्रका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रम निकै प्रभावकारी छ । आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश यसले दिएको छ ।’

विगतमा महँगोमा हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौं लैजान सक्नेहरूले उपचार पाउने र नसक्नेहरूले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । -रासस