काठमाडौं, जेठ २३ :

काठमाडौं महानगरपालिका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनीता डंगोलले अनुगमन निर्देशन पालना सन्तोषजनक रहेको बताउँदै यससँग जोडिएको अभिलेखन र प्रतिवेदन प्रणालीमा थप सुधार्न निर्देशन दिएकी छन् ।

‘अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक छ । अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेस गर्नुहोला,’ उनले निर्देशन दिइन् । समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी पनि लिइन् ।

चालु आवका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डंगोलले नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन प्रदूषणमुक्त हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्दा आकाशे पानी संकलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सीसीटीभी क्यामेरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेस गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रुपमा विद्युतीय प्रणाली मात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेस गर्ने, बेरुजु फर्स्योटको कार्ययोजना बनाउनेलगायत विषय र क्षेत्रमा निर्देशन दिएकी थिइन् । यस्तै अनुगमन टोलीहका काम अन्तरसम्बन्धित बनाउन पनि उनको निर्देशन थियो ।

‘बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित महानगरपालिकाले हेर्नुपर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौं,’ विगत अनुगमनको समीक्षा गर्दै उनले भनिन्, ‘अनुगमन जुन टोलीले गरे पनि त्यसको प्रतिवेदन समितिमा पेस गर्नुपर्छ ।’ अवस्था र आवश्यकतामा कुरा गर्दै उनले योजना, अनुगमन तथा मूल्यांकन एकाइलाई निर्देशन पनि दिइन् । उनले भनिन्, ‘केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।’

सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उनले विषयगत समितिका सदस्य सचिवहरुलाई प्रतिवेदन पेस गर्न निर्देशन दिइन् । ‘चालु आर्थिक वर्षका लागि वार्षिक प्रतिवेदन पेस गर्नुहोला । यसअघिका आर्थिक वर्षहरुको एकीकृत प्रतिवेदन र यसपछि अर्धवार्षिक प्रतिवेदन पेस गर्नुहोला,’ उनले भनिन्, ‘यही प्रतिवेदनले समितिहरुका कामका सहजीकरण गर्ने आधार बनाउनेछ ।’