काठमाडौं, जेठ २५ :

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीसँग आइतबार शीतलनिवासमा भएको भेटमा पौडेलले यस्तो बताएका हुन् ।

‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगन्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्,’ उनले भने, ‘हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ भन्ने मेरो विश्वास छ । यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ ।’

उनले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठुलो महत्त्व रहेको बताएका छन् । ‘त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्छ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने । नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा बर्सेनि लगानी बढाइरहेको बताउँदै उनले निजी क्षेत्रबाट पनि खेलकुदमा आकर्षण बढ्दै गएको धारणा राखे ।

उनले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरेका धन्यवाद पनि दिए । साथै खेलकुद र पर्यटनलाई जोड्ने गरी नेपाल हेरिटेज रन काठमाडौं २५ के रेस शुभारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलको भनाइ थियो ।