
फाइल तस्बिर।
काठमाडौं, जेठ २६ :
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै संघीय सरकारमा निर्भर रहनुपर्ने बाध्यता रहेको गुनासो गरेकी छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारको अनुदानमै आधारित हुने बताउँदै हाल पनि ८० प्रतिशतभन्दा बढी बजेट अनुदानमै निर्भर हुने जानकारी दिइन्।
उनका अनुसार संविधानले स्थानीय तहलाई बाहल कर एकल अधिकारका रूपमा दिए पनि संघीय सरकारले संस्थागत बाहल करलाई आयकरका रूपमा उठाउँदै आएकोले स्थानीय तहको राजस्व स्रोतमा प्रत्यक्ष असर परेको छ।
उपमेयर डंगोलले पालिकाहरूको राजस्व संकलन क्षमता अझै कमजोर रहेको स्वीकार गरिन्। साथै, विद्यालय तहको शिक्षामा स्थानीय तहलाई एकल अधिकार दिइए पनि संघीय सरकारबाट त्यो अधिकार खुम्च्याउने नीति आएको आरोप समेत लगाइन्।