
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्सको पेरिसस्थित कान्स फिल्म फेस्टिभल भ्रमणमा साढे २२ लाख रुपैयाँ भन्दा बढी खर्च भएको पाइएको छ ।
फ्रान्सको कान्स सहरका मेयरको निमन्त्रणामा कान्स फिल्म फेस्टिभल हेर्न जाँदा मात्र २२ लाख ५६ हजार ४ सय २ रुपैयाँ ७५ पैसा खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन २०८२ अनुसार बालेन गत वर्ष तीनदिने भ्रमणमा जाँदा फरकफरक भौचरबाट सो रकम भुक्तानी भएको हो ।
कामपा प्रमुखको फ्रान्सको पेरिस स्थित ७७औं कान्स फिल्म फेस्टिभलको भ्रमणका लागि भौचर नं. ४२६२०८१/०१/३१ मार्फत रु. १ लाख ४४ हजार ७०६ रुपैयाँ ५० पैसा खर्च भएको देखाइएको छ । पुनः सोही फेस्टिभलका लागि भौचर नं. ५०९१-२०८१/०३/०२ मार्फत प्रमुखको नाममा रु. ६२ हजार ५३१ रुपैयाँ २५ पैसा खर्च भएको छ ।
अझ कार्यपालिकाको मिति २०८१/०३/१० को अर्को निर्णयबमोजिम प्रमुख सल्लाहकारद्वय सुनील लम्साल र कुमार व्यञ्जनकार समेतको फ्रान्सको पेरिसस्थित ७७औँ कान्स फिल्म फेस्टिभलको लागि भौचर नं. ५७२३-२०८१/०३/१८ मार्फत रु. २० लाख ४९ हजार १६५ भ्रमण खर्च भुक्तानी भएको छ ।
एउटै कार्यक्रमका लागि पटक-पटक र धेरै व्यक्तिको भ्रमणमा ठुलो रकम खर्च गरिनुले खर्चको औचित्यमाथि गम्भीर प्रश्न खडा भएको महालेखाले जनाएको छ ।