
काठमाडौं, जेठ २९ :
रौतहटमा गाडीको ठक्करबाट ३५ वर्षीय स्थानीय एक युवकको मृत्यु भएपछि स्थानीयवासीले आज बिहान देखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। मृतकका परिवार र स्थानीयले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेर सडक अवरुद्ध गरेका हुन्।
चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको थियो। ठक्कर दिने गाडीको पहिचान नहुँदा समस्या भएको जनाएको छ । प्रहरीले उनलाई ठक्कर दिने गाडीको पहिचान गर्ने प्रयास गरिरहेको छ ।
सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सयौँ सवारी साधनको लाम लागेको छ भने हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरेर गाडी खुलाउने प्रयास भइरहेको छ ।