काठमाडौं, असार १ :

प्रतिनिधिसभाका सांसदहरूले विरोधकाबीच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

बैठकको आकस्मिक समयमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले प्रतिपक्ष दलले विरोध गरेको अवस्थामा सदन सञ्चालन गर्नु सोभनीय नभएको उल्लेख गर्दै संसद नचालाउन अनुरोध गरे।   

‘भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही हुनुपर्छ भन्ने मागमा सबैले साथ दिनुहोस्,’उनले भने, ‘यसरी संसद् चलाउनु, यो संसदीय अभ्यास हैन, यस्तो अवस्थामा संसद् नचलाइयोस् ।’यस्तै सांसद अमरेशकुमार सिंहले पनि नाराबाजीका बीच आफूले बोल्न नसक्ने सभामुखलाई जानकारी गराए।
   
नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले पाँचथर जिल्लाको हेवा खोलामा निर्माणधीन ‘बेलिब्रिज’ भत्किँदा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै सो घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

यस्तै, आम जनता पार्टी (आजपा) का प्रभु साहले कार्यसूचीलाई छोट्याएर सबैलाई बजेटमाथिको छलफलमा सहभागी हुने वातारण बनाउँन सभामुखलाई आग्रह गरे । दुई तिहाइको सरकारले पेलेर जाने नीति लिन नहुने बताए । उनले नाराबाजीका बीच आफूले के बोल्ने भनेर सभामुलाई नै प्रश्न गरे ।

यसैगरी , एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले रास्वपाको नाराबाजीका बीच सभा सञ्चालन गर्दा प्रभावकारी नहुने बताए ।   ‘मन्त्रीज्यूले बजेटका सन्दर्भमा संशोधन गर्नुपर्ने महत्वपूर्ण विषयमा जानकारी गराउँदै हुनुहुन्छ । प्रतिपक्ष दलमध्ये एउटा दल नाराबाजीमा छ । यो नाराबाजीको अवस्थामा मन्त्रीले भन्नुभएको कुराहरु हामी सुनिरहेका छैनौँ,’ उनले भने, ‘सभा सञ्चालनको तरिका भएन । बैठक स्थगित गरेर, अवरोध गर्ने दलसँग सहमति गरी एउटा टुङ्गो पुगेर बैठक अघि बढाउनुहोस् ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको प्रस्ताव सामान्य छलफलका लागि संसद्मा प्रस्तुत गरेका छन् ।