
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज । ‘बहुभाषिक शिक्षाको प्रवर्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइँदैछ।
दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने उद्धेश्य सहित सुरु भएको राष्ट्रिय साक्षरता अभियानको अवधि डेढ दशक पुगेको छ । यतिका समय बित्दा पनि यसको उद्धेश्य पूरा भएको छैन। सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्षयता अभियान सुस्ताएको छ। दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य सहित सरकारले पहिलो पटक २०६५ सालमा अभियानको सुरुवात गरेको हो । जुन लक्ष्य लिएर अभियान सुरु गरियो त्यो लक्ष्य अनुसार उपलब्धि भने हुन सकेको छैन।
यो बर्षको अवधिमा साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ।विद्यालय शिक्षाका लागि सरकारले कम्तीमा ७० प्रतिशत वार्षिक बजेट छुट्टयाईएको छ ।
अझै पनि मधेश प्रदेश र कर्णाली प्रदेशका समेत गरेर १३ जिल्लालाई साक्षरता घोषणा गर्न नसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मधेश प्रदेशको १३० र कर्णालीका २३ स्थानीय तह साक्षर हुन बाँकी छन् ।मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा पनि साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेको केन्द्रले जनाएको छ।
कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी अभ्यास छ। नेपालले पहिलो पटक सन् २००० मा थाइल्यान्डको जोम्टेनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमै सन् २०१५ भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने भनी लिखित प्रतिबद्धता गरेको थियो। तर अभियानको प्रभावकारिता त्यति देखिदैन ।
नागरिकलाई साक्षर तुल्याउने जिम्मेवारी कसको भन्ने स्पष्ट नहुँदा अभियान प्रभावकारी हुन नसकेको शिक्षाविद्हरु बताउछन् ।मुलुक सङ्घीय संरचनामा जानुअघि यो अभियान कर्मचारीलाई जिम्मा दिइएको थियो। मुलुकमा सङ्घीय संरचना लागु भइसकेपछि भने यो अभियान सङ्घ, प्रदेश वा स्थानीय तह कसको भन्ने स्पष्ट नहुँदा समस्या उत्पन्न भएको देखिन्छ ।
पाँच वर्षभन्दा माथिको उमेर समूहमा ७६.२ प्रतिशत साक्षर रहेको जस्मा पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
१५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् । नेपालमा पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० रहेको छ । पाँच वर्षभन्दा माथिको जनसङ्ख्या दुई करोड ६७ लाख २५ हजार २९५ रहेको छ।