
प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले यस विषयलाई संसद्मा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
काठमाडौंको सुनधारास्थित क्यूएफएक्स सिनेमा हलमा मंगलबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
‘महाभोज’ ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको शाहीको भनाइ छ । उनले सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ चलचित्रमा देखाइएको उल्लेख गरे । ‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसद्मा बोल्न बाध्य बनाएको छ,’ शाहीले भने ।
उनले यसअघि पनि संसदीय समिति गठन गरी केहीलाई मात्र नभई सबैलाई छानबिन गर्नुपर्ने माग गरिएकाले यो देशैभरिको समस्या भएको दोहोर्याए । शाहीको भनाइ छ, ‘कि त ऐन ल्याउनुपर्यो, कि त छानबिन हुनुपर्यो । अब फेरि संसद्मा आवाज उठ्नेछ ।’
शुक्रबार रिलिज भएको ‘महाभोज’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेर हलबाट निस्कने दर्शक प्रशन्न मुद्रामा देखिनुका साथै यसलाई ‘हेर्नै पर्ने’ चलचित्रको संज्ञा दिएका छन् ।
सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकले यसको प्रशंसा गरेका छन् । समीक्षकले पनि यसको पटकथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
मंगलबार साँझै कलाकारहरू अनुभव रेग्मी, सलोन बस्नेत, गजित विष्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर विष्टलगायतले पनि ‘महाभोज’ हेरेर यो चलचित्र नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले नछुटाई हेर्नुपर्ने विषयमा बनेको बताएका छन् । चलचित्र हेरेपछि उनीहरूले ‘महाभोज’ ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको प्रशंसा गरे ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ ।