काठमाडौं, असार ५ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चार जना वडाध्यक्षलाई फेरि पुरानै जिम्मेवारी दिएका छन्। सम्पदा तथा पर्यटन, विधायन, सुशासन, र सूचना तथा प्रविधि समितिका संयोजक पदमा उनीहरूलाई पुनः जिम्मेवारी दिइएको हो।

सम्पदा तथा पर्यटनमा वडा नम्बर २२ का अध्यक्ष आशाराम संगत, विधायनमा वडा नम्बर १६ का अध्यक्ष ख्यामराज तिवारी, सुशासनमा वडा नम्बर १४ का अध्यक्ष मचाराजा महर्जन, र सूचना तथा प्रविधिमा वडा नम्बर १० का अध्यक्ष नवीन मानन्धरलाई पुरानै जिम्मेवारी दिइएको छ।

यसअघि मेयर शाहले उनीहरूलाई  पुरानो जिम्मेवारीबाट हटाएका थिए। उनीहरुको ठाउँमा अरु वडाध्यक्षहरुलाई तोकिएको थियो । उनीहरुले जिम्मेवारी लिन अस्वीकार गरेपछि मेयरले पुरानै संयोजकहरूलाई पुनः सोही जिम्मेवारी दिन बाध्य भएका हुन्।

सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवारी नलिने निर्णय जनाएका थिए।