काठमाडौं, असार ८ :

स्वतन्त्र सांसद अमरेशकुमार सिंहको विवादास्पद अभिव्यक्तिपछि आइतबार संसदमा हंगामा भएको छ । सिंहले शीर्ष नेताका चार-पाँच जिल्लाबाहेक बाँकी ७२ जिल्लामा बजेट नपरेको भन्दै ती जिल्लालाई भारत, अमेरिका वा चीनलाई ‘लिजमा दिन’सुझाव दिएका थिए ।

उनको यो भनाइप्रति सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाउँदै उक्त अभिव्यक्तिलाई ‘देशद्रोही’भन्दै कारबाहीको माग गरे ।

बर्तौलाले सिंहको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन आग्रह गरेपछि सभामुख देवराज घिमिरेले असंसदीय भाषा प्रयोग भएको भन्दै संसद सचिवालयलाई रेकर्डबाट हटाउने निर्देशन दिए ।

तर, सभामुखको निर्देशनपछि पनि सिंह आफ्नो भनाइमा अडिग रहँदै रुलिङ नमानेको अभिव्यक्ति दिए । त्यसपछि सत्तारुढ दलका सांसदहरूले सिंहको विरोधमा नाराबाजी गर्दै आक्रोश प्रकट गरे ।

सांसद सिंहले बजेट छलफलको क्रममा सरकारलाई लक्षित गर्दै शीर्ष नेताका जिल्लामा मात्र बजेटकेन्द्रित गरिएको आरोप लगाएका थिए। उनले प्रश्न गरे, ‘बजेट नै नजाने जिल्लाहरू नेपालमै किन राख्ने ? खाली कर उठाउन ?’

उनले थपे, ‘चार-पाँच भाग्यमानी जिल्ला नेपालमै राखौं, बाँकीलाई लिजमा दिऊँ । भारतलाई दिऊँ, अमेरिका, चीनलाई दिऊँ ।’ सिंहको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै संसदमा केहीबेर आरोप-प्रत्यारोपको शृंखला चल्यो ।

हेर्नुहोस् प्रतिनिधिसभा बैठकको लाइभ :