
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौं बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या (बेड) को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।
बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरुमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायत निर्णय गरेको छ ।
बैठकमा ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदिभूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधा-सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे । उनले सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम ४ सय शय्याको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जनाए ।