काठमाडौं, असार ९ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाहरूबारे छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताए । ‘लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रता हाम्रो साझा मूल्यमान्यता हुन्, जसले हाम्रो सम्बन्धलाई थप बलियो बनाएको छ,’ उनले भने ।

उपराष्ट्रपति यादवले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता प्रति धन्यवाद व्यक्त गर्दै आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताए ।

उनले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवाप्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिका जस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको बताए ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित पूर्वाधार परियोजनाहरू र यूएसएआईडीमार्फत भइरहेका कार्यक्रमहरू पुनःसञ्चालन हुनेमा हामी आशावादी रहेको उल्लेख गरे । ‘सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत जलवायु परिवर्तनजस्ता संवेदनशील मुद्दामा विश्वसमुदायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने नेपाल सरकारको धारणा प्रस्तुत गर्दै उपराष्ट्रपति यादवले नेपाल-अमेरिका साझेदारी मानव कल्याणमा केन्द्रित विषयहरूमा समेत सशक्त सहयोगको उदाहरण बनेको बताए ।

अमेरिकी राजदूत थम्प्सनले एमसीसी, यूएसएआईडीलगायत अन्य विकास परियोजनाहरु सकारात्मक रुपमा निरन्तरताको मार्गमा अघि बढेको बताए । उनले अमेरिकामा नेपाली समुदाय अन्त्यन्तै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल र अमेरिका परस्पर सहकार्य गर्दै महत्त्वपूर्ण कामहरु गर्न सक्ने बताए ।